बाणगङ्गा नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकिय र व्यापारिक दृष्टिकोणले सामरिक महत्व बोकेको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री ३५ मिनेट उत्तरी अक्षाश देखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षाश र ८३ डिग्री ०३ मिनेट पुर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ ।
कपिलवस्तु जिल्लाका साविक गा.वि.स हरु बाणगङ्गा, हथौसा, पटना, गजेहडा ,कोपवा, मोतिपुर र भलवाडलाई मिलाई नेपाल सरकारले २०७१/८/१६ मन्त्री परिषदको निर्णय बमोजिम बाणगङ्गा नगरपालिका घोषणा गरेको छ । मुख्यत बाणगङ्गा नदिको सिचित क्षेत्र भएकै कारण यस नगरपालिकाको नामाकरण बाणगङ्गा नगरपालिका हुन पनि स्वाभाविक र न्यायोचित देखिन्छ । प्राचिन भागिरथी नदिको प्रतिक मानिएको यो बाणगङ्गा नदिको ऐतिहासिक , धार्मिक तथा पर्यटकिय महत्व रहेको छ । भगवान रामचन्द्रले वनवासमा रहँदा पानीको समस्यादेखि बाण प्रहार गरि पानीको मुल फुटेर ग‌ंगाको रुपमा परिणत भई बाणगङ्गा नदीको नामाकरण भएको बुझिन्छ। बाणगङ्गा नगरपालिका एक पावन भूमि जहाँ शाक्य दर्शनका प्रणेता महर्षि कपिल मुनिको तपोभूमि, श्रृङ्गिघाट ,मधुवनधाम, लक्ष्मणघाट, वर्गद्धीघाट आदि पवित्र तीर्थस्थलको संगम रहेको यो नदि र यसको नामबाट पुकारिने यस नगरपालिकाको महत्व पनि ऐतिहासिक हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
यस नगरपालिकाको पूर्व तर्फ कोठी नदि सालझण्डी जंगल रुपन्देहीको रुद्रपुर गा.वि.स पश्चिममा बुद्धभूमि नगरपालिकाको कोइली नदि गोरुसिङ्गेको जंगल उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका र दक्षिणमा कपिलवस्तु नगरपालिकाको निग्लीहवा, जहदी र मायादेवी गाँउपालिकाको पतरिया रहेको छ । बाणगङ्गा नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि उत्तर तर्फ १५ कि.मी को दुरीमा अवस्थित रहेको छ। जनगणना २०७८ अनुसार २३३२५ घरधुरी रहेको बाणगङ्गा नगरपालिकाको कुल जनसंख्या ९६७१४ रहेको छ। जसमा महिला ५१३०७ र पुरुष जनसंख्या ४५४०७ छ । यस नगरपालिका भित्र बसोबास गर्ने जातजातिमा थारु ब्राह्मण ,क्षेत्री ,गुरुङ, मगर ,दलित, यादव र मुसलमान लगायतका जातजाति रहेका छन । मिश्रित जातजातिको बसोबास रहेको यस बाणगङ्गा नगरपालिकामा बसोबास गर्ने मानिसहरूको मुख्य पेशा कृषि व्यापार उद्योग नोकरी तथा ज्यालादारी आदि रहेको छ। यहाँ मुख्य गरी धान, मकै, गहुँ, तोरी, माछा पालन, कुखुरा ,मौरी पालन अन्य पशुपालन लगायतका कृषि तथा पशु जन्य उत्पादनहरू बढी हुने गरेको छ। नगरपालिकाको शैक्षिक अवस्था हेर्दा अन्य नगरपालिकाको तुलनामा सन्तोषजनक देखिन्छ ।